रास्वपा केन्द्रीय कार्यालय
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली खटाएको छ। रास्वपाले भूकम्प प्रभावितको उद्धारका लागि कर्णाली प्रदेश सभापति र महामन्त्रीसहितको टोलीलाई जाजरकोटमा खटाएको हो। पार्टीका महामन्त्री डा.मुकुल ढकाल र डा.तोसिमा कार्कीसहितको चिकित्सकको टोली पनि उपचारका लागि जाजरकोट खटिएका छन्।
पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार केन्द्रीय सदस्य दीपक बोहरासहितको टोली भने राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र गएको छ।
काठमाडौँमा उपलब्ध रास्वपाका केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठक अहिले पार्टी कार्यालय बनस्थलीमा बसिरहेको छ। बैठकमा भूकम्प पीडितको उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ।



