काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन्। आज (बिहीबार) माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उनले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा गम्भीर रहेको बताए।
‘पार्टीहरूबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरूको बीचमा समीक्षासहितको बैठक बसेर कमीकमजोरी औँल्याउँदै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागितालगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ,’ उनले भने।
उनले हालै सम्पन्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।