काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका उपनेता बुद्धिमान तामाङले संविधान तलमाथि हुँदा आकाश खस्ने वा धर्ती फाट्ने जस्तो भाष्य नबनाउन आग्रह गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अहिलेको सदनको यो अधिवेशन इतिहासमै सबैभन्दा कमसल भएको जनताले महसुस गरेको बताए।
उनले यसमा राष्ट्रिय सहमति गर्न सरकारले पहलकदमी नगरेको जिकिर गरे। देशमा महँगी बढेर जनताको चुलो निभ्ने, भ्रष्टचार बढ्ने, महिला हिंसा बढेर सुशासन शून्य हुँदा सरकार मौन भएको धारणा उनले राखे।
‘विधेयकहरु बनाउँदा सरोकारवालासँग छलफल भएन, जनहितका कानुन बनेनन्,’ उनले भने, ‘सदनले सकारातमक सन्देश दिन सकेन। मुलुक अन्तिर्राष्ट्रिय खेलाडीहरुको रणमैदान त हुने हैन ? अराजकताले हद नाघिसक्यो।’
उनले पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राज्य, राजसंस्था र प्रदेश खारेजी सबैको सहमतिमा गर्नुपर्ने अहिलेको आवश्यकता भएको र कसैको हार नहुने धारणा राखे।





