कक्षा ९ की छात्रा बनिन् एकघन्टे शिक्षामन्त्री

हिमाल प्रेस १५ कार्तिक २०८० १३:५४ | Wednesday, November 1, 2023
कक्षा ९ की छात्रा बनिन् एकघन्टे शिक्षामन्त्री

जनकपुरधाम-  भारतीय अभिनेता अनिल कपुरको फिल्म ‘नायक : द रियल हिरो’ सन् २०११ मा प्रदर्शनमा आएको थियो। जसमा उनी एक दिनका लागि महाराष्ट्रका मुख्यमन्त्री बनेका थिए। हिन्दी फिल्मकै जस्तो घटना नेपालमा पनि भएको छ।

धनुषा, जनकनन्दिनी गाउँपालिकाकी रजीना खातुन आज (बुधबार) एक घन्टाका लागि मधेस प्रदेश सरकारको मन्त्री बनेकी छन्। १८ वर्षीया उनी प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी हुन्।

आज उनको जीवनमा कल्पना नगरेकै घटना भएको छ। आफूलाई एक घन्टाका लागि शिक्षा तथा संस्कृति मन्त्री बनाउँदा उनी छक्कै परेकी छन्। कहिल्यै मन्त्रालय नटेकेकी उनी एकाएक मन्त्री बनेपछि अक्मकिइन्।

प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले आफू बसेको कुर्सी खाली गरेर रजीनालाई जिम्मेवारी हस्तान्तरण गर्दा रजीनासँगै आएका बालिकाहरूले हर्षविभोर हुँदै ताली पड्काएका थिए।

कलिलो उमेरकी किशोरी अर्कोतर्फ सीमान्तकृत मुस्लिम समुदायकी। प्रदेश सरकारले पहिलो पाँचबर्से कार्यकाल सकेर दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म सो समुदायबाट कुनै पनि महिलाले मन्त्री बन्ने अवसर पाएका छैनन्। यहीबेला मुस्लिम समुदायकी एक किशोरी मन्त्री बनेपछि माहोल एकछिन खुसीसँगै स्तब्ध बन्यो। रजीना भावुक भइन्।

‘मन्त्रालय र मन्त्री बस्ने कोठा कस्ता हुन्छन् भनेर नदेखेकी म एकाएक मन्त्री भएपछि सपनाजस्तै लागिरहेको छ,’ उनले भनिन्, ‘यो जिम्मेवारी मेरो र मजस्ता आम किशोरीको आत्मसम्मान, अवसर र सहभागिताको एक अभिव्यक्ति पनि हो।’
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ देखि सुरु भएको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बुधबार प्रतीकात्मक रूपमा रजीनालाई एकघण्टे मन्त्री बनाइएको हो।

यो अभियान सञ्चालन गरिरहेको प्लान इन्टरनेसनल नेपालकी अञ्जु शाक्यले किशोरी सशक्तीकरणको एक नियमित अभियानअन्तर्गत यस्तो अभ्यास गरिएको जानकारी दिइन्। ‘अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ देखि विभिन्न सरकारी निकाय, सङ्घसंस्था, मिडिया, दूतावास, शैक्षिक संस्था लगायतमा एक दिनका लागि प्रमुख व्यक्तिको कार्यभार किशोरीलाई हस्तान्तरण गर्ने अभियान चलिरहेको छ,’ शाक्यले भनिन्, ‘सात जिल्लाका ५० जना किशोरीले विभिन्न संस्थामा ५० पदको नेतृत्व लिइसकेका छन्। जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वका बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्नेमा छलफल हुने गरेको छ।’

उनका अनुसार सोही अभियानअन्तर्गत मधेस प्रदेशमा पनि ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम भइरहेका छन्। आज बिहान आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारका शिक्षामन्त्री यादव पनि कार्यक्रम अवधिभरसँगै रहे। सो क्रममा मन्त्रीको हैसियतमा रजीनाले मन्त्रालयका योजना, गतिविधि र कार्यक्रमबारे जानकारी लिएकी थिइन्। साथै सहभागी अन्य सहकर्मीबाट प्रश्नोत्तर शैलीमा जिज्ञासासमेत सुनिन्।

जवाफमा मन्त्री रजीनाले भनिन्, ‘मन्त्रालयका योजना सुनेर मलाई खुसी लागेको छ। तर हाम्रो गाउँघरमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ। पर्याप्त कक्षाकोठा, टेबुल कुर्ची, शौचालय छैनन्। किशोरीहरूलाई महिनावारी भएका बेला विद्यालय जान निकै कठिन भइरहेको छ। प्याड दिने भनिए पनि हामीले आवश्यकतानुसार पाएका छैनौँ। त्यसकारण भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण सिकाइमा विशेष ध्यानदिन म आग्रह गर्दछु।’

रजीनाको आत्मविश्वास मिश्रित गुनासो, अपेक्षा र पीडा प्रत्यक्ष हेरिरहेका मन्त्री यादवले युवतीहरूलाई भविष्यमा नेतृत्व लिन र आत्मविश्वास बढाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखे।
‘मधेश प्रदेश सरकारले किशोरीहरूका लागि बेटी पढाऊ, बेटी बचाउ, छोरी शिक्षा, छोरी बीमा, साइकल वितरणलगायत योजना ल्याएको छ,’ उनले भने, ‘ती योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिँदादिँदै पनि सबै ठाउँका समस्या समाधान गर्न सकिएको छैन।’ आफू नेतृत्वमा रहुञ्जेल प्रदेशवासीका गुनासा सम्बोधन हेतु प्रयास गर्ने मन्त्रीले जनाए।

प्लान इन्टरनेसनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय जनकपुरका प्रबन्धक रविशङ्कर पण्डितले महिला सशक्तीकरणबारे सचेतना फैलाउन र अवसर पाएमा महिलाले पनि सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले रजीनालाई एक दिनका लागि मन्त्री बनाइएको बताए।

‘गल्र्स टेक ओभर अभियानले बालिका तथा किशोरीलाई निर्णायक भूमिकामा राखी उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतीका बारेमा जानकारी लिन, उनीहरुका साझा सवालमा निर्णायकर्ता, नेता तथा परिवर्तनका संवाहकको दृष्टिकोण परिवर्तन गर्न सघाउ पुगोस् भन्ने हाम्रो उद्देश्यले हो’, पण्डितले भने। साथै किशोरीलाई सशक्त महसुस गराउन, उनीहरूलाई रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्न यो अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।

एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन्। फरक क्षमताकी उनी स्थानीयस्तरमा बालविवाह नियन्त्रण, छोरीलाई शिक्षा, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्ध एक अभियानीका रूपमा पनि परिचित छिन्। रासस

प्रकाशित: १५ कार्तिक २०८० १३:५४ | Wednesday, November 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast