एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ भित्र

हिमाल प्रेस १३ कार्तिक २०८० १९:३२ | Monday, October 30, 2023
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ भित्र नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए।

एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ। पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए।

यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए। पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ। गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन्।

केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन्। यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिए। सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउनेछन्।

यसैगरी, पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखित रुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उनले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०८० १९:३२ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast