ओलीले राष्ट्रसंघका महासचिवलाई भने : प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सकिएन

हिमाल प्रेस १२ कार्तिक २०८० १९:०३ | Sunday, October 29, 2023
ओलीले राष्ट्रसंघका महासचिवलाई भने : प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सकिएन

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज भएको आरोप लगाएका छन्।

आइतवार संघीय संसद भवनमा संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिएकाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनेको बताए।

माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री प्रचण्डको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुतेरससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यता, महासचिव गुतेरसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए। ओलीले महासचिव गुतेरससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रिया छिटो टुंगोमा पुर्‍याउन सक्दो सहयोग गर्ने बताएका थिए।

बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुतेरसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए।

उपमहासचिव ज्ञवालीले भने, ‘शुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरु उठाउनु भयो। भूटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया, जो सफल भएको छ। त्यो कुरा नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिशनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको छ र मेरा ३ एजेण्डा रहेका छन्। खास गरेर नेपालीले जलवायु परिवर्तनका कारण जुन पीडा भोग्नु परेको छ‚ यसलाई म नजिकबाट हेर्न चाहन्छु। र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु भनेर महासचिवले भन्नु भयो।’

गुतेरसले राष्ट्रसंघ नेपालको साथमा रहेको बताएको जानकारी ज्ञवालीले दिए।

प्रकाशित: १२ कार्तिक २०८० १९:०३ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast