राष्ट्रसंघका महासचिवलाई कांग्रेस नेता कोइरालाले भने : नेपालीहरू संकटमा छन् आवाज उठाइदिनू

हिमाल प्रेस १२ कार्तिक २०८० १७:५० | Sunday, October 29, 2023
राष्ट्रसंघका महासचिवलाई कांग्रेस नेता कोइरालाले भने : नेपालीहरू संकटमा छन् आवाज उठाइदिनू

काठमाडौँ- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्। आइतबार उनले सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, कानुनमन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङ, परराष्ट्रमन्त्रीसमेत रहेका नेता एनपी साउदसँग भेटर्वाता गरेका हुन्।

गुटेरेससँगको भेटका क्रममा कांग्रेस नेता कोइरालाले जलवायु परिवर्तनले नेपालीहरू एकदमै संकटमा परेको बताएका थिए। कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार भेटमा कोइरालाले महासचिव गुटेरेसलाई एभरेस्ट बेस क्याम्प जाँदा त्यहाँ जलवायु परिवर्तनले नेपालीलाई पारेको असरको सुक्ष्म अध्ययन गरेर विश्व मञ्चमा आवाज उठाइदिन अनुरोध गरेका छन्।

‘तपाईं एभरेस्ट बेस क्याम्प जाँदै हुनुहुन्छ भन्ने सुनेको छु। तपाईं पहिले पनि त्यहाँ गइसक्नुभएको छ। पहिलेको तुलनामा अहिले जलवायु परिवर्तनको असर धेरै परेको छ। नेपालीहरू कति संकटमा छन्, कति समस्या भोगिरहेका छन् भन्ने त्यहाँ पुगेर तपाईंले महसुस गर्नुहुन्छ। विश्व मञ्चमा यो आवाज तपाईंले उठाइदिनुपर्छ भन्नुभयो,’ कोइरालाको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो।

चारदिने भ्रमणका लागि महासचिव गुटेरेस आइतबार बिहान नेपाल आइपुगेका हुन्। उनले राष्ट्रपति, प्रधानमन्त्रीसहित नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। उनी लुम्बिनी पनि जाँदैछन्। त्यस्तै उनले मंगलबार संघीय संसद्लाई सम्बोधन पनि गर्दैछन्।

प्रकाशित: १२ कार्तिक २०८० १७:५० | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast