काठमाडौँ- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको सुरक्षित फिर्तीको कामना गरेका छन्। आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि मिडियालाई सम्बोधन गर्दै गुटेरेसले १० नेपाली विद्यार्थी मारिएको घटनाप्रति दु:ख व्यक्त पनि गरे।
‘म अक्टोबर ७ मा इजरायलमा हमासको आतंकवादी आक्रमणमा परी मारिएका १० जना विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु,’ महासचिव गुटेरेसले भने, ‘बेपत्ता भएका विपीन जोशीको सुरक्षित फिर्तीको म कामना गर्छु।’
प्यालेस्टिन चरमपन्थी समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए। एकजना अझै बेपत्ता छन्। बेपत्ता विपीनलाई हमासले बन्धक बनाएको अनुमान छ। उनले मध्यपूर्वको द्वन्द्व नेपालबाट निकै टाढा भए पनि नेपालीहरूको घरबाट निकै नजिक रहेको बताए। आफू कतार हुँदै नेपाल आएको र कतारले गाजामा बन्धक बनाइएकाहरूलाई बिनासर्त सुरक्षित मुक्त गर्नका लागि काम गरिरहेको उनको भनाइ छ।
महासचिव गुटेरेसले गाजाको अवस्था झन् बिग्रँदै गएको जनाउँदै इजरायली सेनाको कारबाहीले गाजामा अन्तर्राष्ट्रिय मानवीय सहायता कार्य रोकिएकोमा दुःख व्यक्त गरे। नागरिकको हत्या र घाइते बनाउने कार्य स्वीकार्न नसकिने उनले बताए।
‘सबैले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्छ। युद्धमा पनि कानुन पालना गर्नुपर्छ। युद्धमा जनताको सुरक्षा कसरी गर्ने भन्न स्पष्ट छ,’ महासचिव गुटेरेसले भने। इजरायलको आक्रमणका कारण गाजामा २० लाख प्यालेस्टिनी औषधि, पानी, विद्युत्लगायतका आधारभूत आवश्यकताबाट टाढा रहेको जनाए। उनले युद्धरत दुवै पक्षलाई तत्काल युद्धविराम गर्न र बन्धकलाई मुक्त गर्न आग्रहसमेत गरे।
उनले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपालले गरेको योगदानको प्रशंसा गरे। नेपाल र राष्ट्रसंघबीच सहयोग बढाउन आफू नेपाल आएको उनले जनाए। नेपाललाई अतिकम विकसित राष्ट्रबाट अपग्रेड गर्ने प्रक्रियामा राष्ट्रसंघकले सघाउने उनको प्रतिबद्धता छ।
उनले नेपालको शान्ति प्रक्रियाको बाँकी रहेको काम सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुन अनुसार पूरा गर्न आग्रह गरे। शान्ति प्रक्रियालाई टुङ्गाउने कार्यमा नेपाललाई आवश्यक परेको खण्डमा राष्ट्रसंघले सघाउने उनले बताए।
जलवायु परिवर्तनले नेपाललाई असर गरेको जनाउँदै उनले नेपालको दिगो विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने जनाउँदै उनले बुद्धले दिएको शान्ति र अहिंसाको सन्देश विश्वकोलाई महत्त्वपूर्ण रहेको उनले जनाए। उनले नेपाल विश्वकै साथी भएको बताए।





