बंगलादेशको ‘सर्वाधिक खराब’ प्रदर्शन, नेदरल्यान्ड्सलाई चाहियो ठूलो टिमको हैसियत

हिमाल प्रेस १२ कार्तिक २०८० ११:३२
12
SHARES
बंगलादेशको ‘सर्वाधिक खराब’ प्रदर्शन, नेदरल्यान्ड्सलाई चाहियो ठूलो टिमको हैसियत

काठमाडौँ- विश्वकप क्रिकेटमा बंगलादेश शनिबार राति ८७ रनले पराजित भएको छ। तुलनात्मक रूपमा कमजोर विपक्षी नेदरल्यान्ड्ससँग हारेपछि बंगलादेशका कप्तान सकिब अल हसनले आफ्नो टिमले विश्वकपमा हालसम्मकै खराब प्रदर्शन गरेको प्रतिक्रिया दिए।

छिमेकी भारतमा जारी यो विश्वकपमा बंगलादेशले बलियो सुरुवात गरेको थियो। पहिलो खेलमा अफगानिस्तानलाई पन्छाएको बंगलादेश त्यसपछिका पाँच खेलमा लगातार पराजित भएको छ।

‘मसँग कुनै जवाफ छैन। मलाई लाग्छ आज हामीले अहिलेसम्मकै खराब खेल देखायौँ। हामीले किन त्यत्तिको खराब खेल्यौँ, मलाई थाहा छैन,’ निराश देखिएका सकिबले भने।

कोलकाताको इडन गार्डेन्समा बंगलादेशले डच टिमलाई दबाबमा राखेको थियो। कुनै समय नेदरल्यान्ड्स ६३-४ को स्थितिमा थियो। तर बंगलादेशले डच कप्तान स्कट एडवार्ड्सको क्याच दुई पटक छाडेपछि खेलले फरक रूप लियो। एडवार्ड्सले अन्ततः ६८ रन बनाए।

एडवार्ड्सको अर्धशतकको मद्दतले नेदरल्यान्ड्सले २२९ रनको योगफल तयार पारेको थियो। तर नेदरल्यान्ड्सले दिएको यो मध्यम लक्ष्य बंगलादेशले पूरा गर्न सकेन। बंगलादेश ४२.२ ओभरमा १४२ रन बनाएर अलआउट भयो। बंगलादेशलाई रोक्न पाउल भान मिकेरेनले २३ रन खर्चिएर चार र बास डी लिडले २५ रन खर्चिएर दुई विकेट हात पारे।

पाँचौँ हारपछि बंगलादेश अंकतालिकामा नवौँ स्थानमा छ। बंगलादेश र पुछारको इंग्ल्यान्डको समान दुईदुई अंक छ। १० टिम सम्मिलित विश्वकपको प्रारम्भिक चरणमा बंगलादेशले अब पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाको सामना गर्न बाँकी छ।

‘म कोही एकजनालाई दोष दिन चाहन्नँ। मलाई थाहा छ, हामी यो स्थितिमा हुनुपर्ने टिम होइनौँ। जसरी खेलेका छौँ, त्योभन्दा गतिलो टिम हौँ। हालको लयले हामी सबैलाई निराश बनाएको छ,’ सकिबले भनेका छन्।

कप्तान सकिबले आफ्नो टिम किन यति खराब लयमा छ भन्ने प्रश्नको जवाफ आफूले दिन नसक्ने पनि बताए। ‘हाम्रो टिममा के हुँदैछ, मलाई थाहा छैन। मसँग केही जवाफ छैन। ब्याटिङबारे सोध्नुहुन्छ भने म भन्न सक्छु जम्मा दुई ब्याटरले मात्र चित्तबुझ्दो खेल्न सकेका छन्। ती दुई महमदुल्लाह र मुस्फिकर रहमान हुन्,’ सकिबको भनाइ थियो।

महमदुल्लाहले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए। मुस्फिकरका नाममा भने हालसम्म दुई अर्धशतक छ। सकिबले भने अपेक्षाकृत लय देखाउन सकेका छैनन्। उनले पाँच खेलमा जम्मा ६५ रन जोडेका छन्। जबकि उनले गत विश्वकपमा ६०६ रन बनाएका थिए।

‘बंगलादेशका ब्याटरहरूको मात्र होइन, बलरको प्रदर्शन पनि खराब छ। दुवै पक्षमा हामीले आत्मविश्वास देखाउन सकेका छैनौँ। लक्ष्यअनुसारको प्रदर्शन भएकै छैन,’ सकिबले भने, ‘कतिपय अवस्थामा हामीले विपक्षी टिमको बलरहरूको सामना गर्न सकिरहेका छैनौँ। ओपनरले बलियो सुरुवात गर्न नसक्दा मध्यक्रमका ब्याटर दबाबमा पर्ने गर्छन्।’

उता विजयी टिमका अलराउन्डर बास डे लिडले नेदरल्यान्ड्स अब सानो टिम नरहेको प्रतिक्रिया दिए। बंगलादेशलाई पन्छाएपछि डे लिडले यस्तो धारणा राखेका हुन्।

यो विश्वकपमा १० टिममध्ये नेदरल्यान्ड्स मात्र यस्तो टिम हो जोसँग टेस्ट मान्यता छैन। तर भारतीय भूमिमा नेदरल्यान्ड्सले दुई टेस्ट टिमलाई हराइसकेको छ। नेदरल्यान्ड्सले यसअघि दक्षिण अफ्रिकालाई स्तब्ध बनाएको थियो।

‘हामी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को ध्यान आकृष्ट गर्न चाहन्छौँ। आशा छ आईसीसीले आउँदा वर्षमा हामीलाई ठूलो टिमका रूपमा हेर्नेछ,’ डे लिडले भने।

कप्तान एड्वार्ड्स र फास्ट बलर मिकेरेनले प्रभावशाली प्रदर्शन गरेको खेलमा नेदरल्यान्ड्सले बंगलादेशलाई सजिलै पन्छायो। यो जित डच क्रिकेटका लागि असाध्यै महत्त्वपूर्ण साबित हुने डे लिडको भनाइ थियो।

‘हामी चाहन्छौँ, नेदरल्यान्ड्समा क्रिकेट खेल्ने बच्चाहरूको संख्या बढोस्। यस्तो जितपछि उनीहरू क्रिकेटप्रति थप आकर्षित हुन सक्छन्,’ डे लिडले थपे।
शनिबार रातिको जित नेदरल्यान्ड्सले ५० ओभरको विश्वकपमा हासिल गरेको चौथो जित हो। यसअघि नेदरल्यान्ड्सले सन् २००३ मा नामिबिया र चार वर्षपछि स्कटल्यान्डमाथि जित दर्ता गरेको थियो।

‘हामी यो जितको खुसीयाली त मनाइहाल्छौँ। सायद एक दुई बोतल बियर पिइएला। अनि रग्बी विश्वकपको फाइनल पनि हेर्नुछ,’ डच टिमले बंगलादेशमाथिको जितको खुसीयाली कसरी मनाउँछ भन्ने प्रश्नमा डे लिडको जवाफ थियो।

नेदरल्यान्ड्ससँग अब ६ खेलबाट चार अंक छ। यो अंकले मात्र नेदरल्यान्ड्सलाई सेमिफाइनल पुर्‍याउने सम्भावना छैन। अन्तिम चारमा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी खेलबाट पनि अधिकतम अंक बटुल्नुपर्नेछ। हाल आठौँ स्थानमा रहेको यो टिमले अफगानिस्तान, इंग्ल्यान्ड र भारतको सामना गर्न बाँकी छ। त्यसमाथि अरू टिमको नतिजाले पनि नेदरल्यान्ड्सको सम्भावनालाई तलमाथि पार्नेछ।

‘हामीले अरु टिमको नतिजा पनि पर्खनुपर्नेछ। अहिलेका लागि हामीले गर्नसक्ने भनेको यति हो, मेहनत जारी राख्ने र बाँकी खेल जित्न प्रयास गर्ने। पछिल्ला केही खेलमा हामीले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेका थिएनौँ। तर आजको खेलमा हामी अब्बल ठहरियौँ। आउँदा खेलमा के कति गर्न सकिन्छ, हेरौँ,’ डे लिडले भने।

प्रकाशित: १२ कार्तिक २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast