दलको आलोचनाप्रति देउवा सकारात्मक, ओली भन्छन् : समय आएपछि जवाफ दिन्छौँ

हिमाल प्रेस ११ कार्तिक २०८० १७:४६
दलको आलोचनाप्रति देउवा सकारात्मक, ओली भन्छन् : समय आएपछि जवाफ दिन्छौँ

काठमाडौँ– पछिल्लो समय राजनीतिक दलप्रति भइरहेको आलोचना र टिप्पणीलाई लिएर शीर्ष नेताबीच भिन्नभिन्न अभिव्यक्ति सार्वजनिक भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आलोचनालाई सकारात्मक रूपमा लिएर अघि बढ्ने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालगायतका परिवर्तनविरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको बताएका छन्। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरूमाथि प्रश्न नै नउठेको प्रतिक्रिया दिए।

नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा सभापति देउवाले राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास नघटेको बताए। उनले भने, ‘कांग्रेसले लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको छ।’

राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै देउवाले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको बताए। उनले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन।’

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिर : रासस

उनले पार्टीभित्र बेमेल रहेको कुरा पनि असत्य रहेको बताए। ‘दलभित्रको फरक मत हुन सक्लान्। यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ’, देउवाले भने।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको आरोप लगाए। उनले भने, ‘प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्तिलाई निस्तेज पार्नेछौँ।’

यसैगरी एमाले अध्यक्ष ओलीले राजनीतिक दलहरूप्रति प्रश्न उठेको नभई उठाउन खोजिएको बताए। उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ। यसको जवाफ यथा समयमा यथोचित ढंगले दिइनेछ।’

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संकटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौती हल गर्न पनि दल एक हुनुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चियापानले दलहरुप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ कार्तिक २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast