काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार सिंहदरबारमा भेटघाट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सिंहदरबार पुगेका हुन्।
दुई अध्यक्षबीच समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको बताइएको छ। एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई चियापान समारोहका लागि निमन्त्रणा गर्न ओली सिंहदरबार गएका हुन्। प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका काम टुंग्याउनका लागि सहयोग गर्न ओलीसमक्ष आग्रह गरेका थिए।
एमालेले दसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वका अवसरमा कात्तिक १५ गते चियापान समारोह आयोजना गरेको छ। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी विधेयक, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा कुराकानी भएको थियो। महासचिव गुटेरस आगामी आइतबार अर्थात् १२ गते नेपाल भ्रमणमा आउँदैछन्। उनले संसद्को दुवै सदनमा सम्बोधन गर्ने कार्यक्रम छ।