धर्मशालाको कुहिरोले रोकेन कोहली र सामीको चमक

हिमाल प्रेस ६ कार्तिक २०८० ७:३७
12
SHARES
धर्मशालाको कुहिरोले रोकेन कोहली र सामीको चमक

काठमाडौँ- विराट कोहलीले ९५ रन बनाएसँगै भारतले आफ्नै भूमिमा जारी क्रिकेट विश्वकपमा न्युजिल्यान्डमाथि चार विकेटको जित हात पारेको छ। न्युजिल्यान्डलाई हराएसँग भारतले यसपालिको विश्वकपमा जितसंख्या पाँच पुर्‍यायो। अपराजित भारतसँग हार्नुअघि न्युजिल्यान्डले पनि कुनै खेल गुमाएको थिएन।

आइतबार राति हिमाचलको धर्मशाला क्रिकेट रंगशालामा भारत विजयी हुँदा कोहली कीर्तिमान नजिक पुगेका थिए। उनका सामु सर्वाधिक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने दोस्रो खेलाडी बन्ने अवसर थियो। तर सचिन तेन्दुलकरले राखेको यो कीर्तिमान बराबर गर्न उनले पर्खनुपर्ने भएको छ। तेन्दुलकरको नाममा ४९ शतक छ।

भारतलाई जिताउन फास्ट बलर मोहम्मद सामीको भूमिका पनि कम महत्त्वपूर्ण थिएन। उनले ५४ रन खर्चिएर पाँच विकेट लिएपछि न्युजिल्यान्ड २७३ रनमा सीमित भएको थियो। टस जितेर न्युजिल्यान्डलाई ब्याटिङ गर्न दिएको भारतले १२ बल बाँकी छँदा लक्ष्य भेट्यो।

भारतसँग भिड्नुअघि शीर्षस्थानमा रहेको न्युजिल्यान्डका लागि डारेल मिचेलले १३० रन बनाए। उनले रचिन रवीन्द्रसँग १५९ रनको साझेदारी गरेका थिए। रवीन्द्रले ७५ रनको योगदान गरे। यी दुईको साझेदारीले नै न्युजिल्यान्डको इनिङ्स लयमा फर्किएको थियो। न्युजिल्यान्डले १९ रनमा दुई ओपनरलाई गुमाइसकेको थियो।

रवीन्द्र जडेजाले क्याच छाडेपछि १२ रनबाट उकालो लागेका रचिन रवीन्द्रले आखिरमा पाँचौँ अर्धशतक बनाउन सके। उनले न्युजिल्यान्डका लागि जम्मा १७ एकदिवसीय खेलेका छन्। रचिन र मिचेल भारतीय स्पिनरहरुमाथि हाबी भएका थिए।

उसो त मिचेलको पनि क्याच छाडिएको थियो। त्यो पनि दुई पटक। क्याच छाडिँदा उनी एकपटक ५९ र अर्को पटक ६९ रन बनाएर खेलिरहेका थिए। नौ चौका र पाँच छक्का प्रहार गरेका मिचेलले कुल १२७ बल खेले। र, करियरको पाँचौँ शतक पूरा गरे।

विस्फोटक ब्याटिङ गरिरहेका मिचेल र रचिन दुवैलाई सामीले पभेलियन फर्काएका थिए। पराजित टिमका लागि ग्लेन फिलिप्सिले २६ बलमा २३ रन त बनाए। बाँकी ब्याटरको भने प्रदर्शन उल्लेखनीय रहेन।

न्युजिल्यान्ड पछिल्लो १० ओभरमा कमजोर देखिएको थियो। आफ्नै देशमा जारी विश्वकपमा पहिलो खेल खेलिरहेका सामीले न्युजिल्यान्डलाई लम्किन दिएनन्। त्यसबीचमा न्युजिल्यान्डले ९५ रनका लागि आठ विकेट गुमायो।

सन् २०१९ को विश्वकप सेफिाइनलमा न्युजिल्यान्डसँग हारेको भारतलाई यसपालि विजयी बनाउन कोहलीले १०४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे। आईसीसीले आयोजना गरेको प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई २० वर्षपछि हराउन सकेको हो। भारतले ‘किविज’लाई पछिल्लो पटक हराएको विश्वकप सन् २००३ मा हो। यसपल्ट उही स्तरको सफलता दोहोर्‍याउन कोहलीले रवीन्द्र जडेजासँग छैटौँ विकेटका लागि ७८ रनको साझेदारी गरे।

‘उनले यस्तो खेलेको आज मात्र होइन। वर्षौँदेखि भारतलाई यसरी नै जिताउँदै आएका छन्। आज उनलाई जडेजाले साथ दिए। हामीले बीचमा केही विकेट गुमाएका थियौँ। तर यी दुईको साझेदारीले हामीलाई कठिन स्थितिबाट मुक्त गरायो,’ जितपछि भारतीय कप्तान रोहित शर्माको भनाइ थियो।

कप्तान रोहितले शुभमन गिलसँग मिलेर ७१ रन बनाउँदै भारतलाई सकारात्मक सुरुवात दिलाएका थिए। रोहितले ४६ र शुभमनले २६ रनको योगदान गरे। यी दुवै लोकी फर्गुसनको बलमा आउट हुन पुगे।

त्यसपछि कोहली र श्रेयस ऐयरले भारतीय इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। यी दुईले तेस्रो विकेटका लागि ५२ रन बनाए। उनीहरू खेलिरहँदा कुहिरोले करिब १० मिनेट बाधा उत्पन्न गरेको थियो।

२९ बलमा ३३ रन बनाएका कारण उत्साहित देखिएका ऐयरलाई ट्रेन्ट  बोल्टले डेभोन कोन्वेमार्फत क्याच गराएका थिए। ऐयर नभएपछि कोहलीले केएल राहुलसँग मिलेर भारतीय इनिङ्सलाई अघि बढाउन खोजे। तर केएल राहुल २७ रन बनाएका बेला मिचेल सान्ट्नेरको एलबीडब्लू धरापमा परे।

पहिलो पटक विश्वकप खेलिरहेका सूर्यकुमार यादव दुई रनमा रनआउट भए। तर कोहलीलाई भने न्युजिल्यान्डका बलरले उत्तेजित बनाउन सकेनन्। आफ्नै तालमा खेलेका कोहलीलाई जडेजाले साथ दिए। आखिरमा भारत विजयी हुँदै शीर्षस्थानमा उक्लियो। आइतबार रातिको नतिजापछि भारतको १० र न्युजिल्यान्डको आठ अंक छ।

प्रकाशित: ६ कार्तिक २०८० ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast