दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजाआराधना गरिँदै

हिमाल प्रेस ३ कार्तिक २०८० ६:५० | Friday, October 20, 2023
दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौँ- दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। यही परम्पराअनुसार शुक्रबार घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजाआराधना गरिन्छ।

नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो। चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ। नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो।

प्रकाशित: ३ कार्तिक २०८० ६:५० | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast