बीआरआई सम्मेलनमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

हिमाल प्रेस २९ असोज २०८० १५:२७
8
SHARES
बीआरआई सम्मेलनमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ- बीआरआई सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका छन्। बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका हुन्।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुँदैछ। सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिने उनको सचिवालयले जनाएको छ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुन्। उपप्रधानमन्त्री श्रेष्ठ र वाङबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुने बताइएको छ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रिभोजमा श्रेष्ठ सहभागी हुनुहुने छन्। सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी बताइएको छ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो।

बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =