काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सैनिक ऐन, नियम र स्थापित परम्पराप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। नेपाली सेनाको भावी प्रधानसेनापतिका नाममा आफ्नो नाम जोडेर आएका सार्वजनिक कुरा भ्रामक भएको उनको भनाइ छ।
माओवादी पूर्वलडाकुबाट नेपाली सेनामा समायोजन भई सहायक सहायक रथी बनेका यमबहादुर अधिकारीको पदावधि थप्न लागिएको विषयमा विभिन्न टीकाटिप्पणी भएपछि रक्षामन्त्रीसमेत रहेका खड्काले यस्तो स्पष्टीकरण दिएका हुन्।
खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सेनाको भाबी प्रधानसेनापतिको नाममा मेरो नाम समेत जोडेर केही सञ्चारमाध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रस्ट पार्न चाहन्छु। सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्परा विपरीत गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिनँ, म यसप्रति पूर्ण प्रतिबद्ध छु।’