कोशीमा माओवादीलाई धक्का : पाएको सुम्पियो, पाउन लागेको गुमायो

विवेक विवश रेग्मी २७ असोज २०८० १७:०३
294
SHARES
कोशीमा माओवादीलाई धक्का : पाएको सुम्पियो, पाउन लागेको गुमायो माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो।

इटहरी– कोशी प्रदेशसभाको दोस्रो कार्यकाल रहिरहँदासम्म माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने दिनको पर्खाइमा थिए। दोस्रो कार्यकाल सुरु भएपछि एमाले नेतृत्वमा सरकारमा सहभागी भएको माओवादी प्रदेशको नामकरणका कारण आलोचित बन्यो। तीव्र आलोचना भएपछि सरकारबाट माओवादी बाहिरिएको थियो।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बन्न सघाएको माओवादीलाई यसपटक कोशीमा धक्का लागेको छ।

दुईपटक मुख्यमन्त्री बने पनि कांग्रेसका उद्धव थापाले विश्वासको मत प्राप्त गर्न नसकेपछि यसपटक भने प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर कांग्रेसका डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीमा केदार कार्कीले एमालेको साथ लिएर दाबी पेस गरे। सोहीअनुसार शनिबार कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।

यसपटक कोशीमा सरकार बनाउने अन्तिम मौका थियो। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम जुनसुकै सांसदले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँथे। सोहीअनुसार कार्कीले केन्द्रले गरेको निर्णयलाई लत्याउँदै एमालेको साथ र डा. शेखर समूहका ९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

अब प्रदेशसभाको दोस्रो कार्यकालको अन्तिम मुख्यमन्त्री बनेका छन् केदार कार्की। सँगै माओवादी केन्द्रका आङ्बो मुख्यमन्त्री बन्ने सपना यो कार्यकालका लागि पूरा नहुने भएका छन्। त्यति मात्रै होइन, माओवादीले पाउन लागेको मात्रै गुमाएन, पाएको पनि सुम्पिएको छ।

एमालेसँगको गठबन्धनबाट बाहिरिएपछि आफैँले दाबी नगरीकन कांग्रेसलाई मुख्यमन्त्री बन्न सघाएको आङ्बोले बताएका छन्।
आफूहरूले कांग्रेसकै आग्रहमा एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भएको उनले बताए।

‘गठबन्धनको कठिन अंकगणितको बाबजुद बहुमत पुर्‍याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दलसँग हुँदा पनि गठबन्धनको संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्यमन्त्रीमा हामीले कांग्रेसको दाबीलाई स्वीकार गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलोपटक सरकार गठनमा कांग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौँ। मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि कांग्रेसकै नेतालाई मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुखसमेत राजीनामा गराएर बहुमतसहित सरकार गठन गर्न तयार भयौँ।’

दुईपटकसम्म कांग्रेसले बहुमत प्राप्त गर्न नसकेपछि यसपटक आफूले विश्वासको मत प्राप्त गर्नेगरी र प्रदेशलाई स्थायित्व दिन दाबी गरे पनि कांग्रेसको गुटबाट धोका पाएको उनले उल्लेख गरेका छन्। आफूहरूले कुनै गुटउपगुटसँग सहकार्य गरेको नभई कांग्रेससँग सहकार्य गरेको आङ्बोले बताएका छन्।

‘हामीले गठबन्धन र सत्ता सहकार्य कांग्रेससँग गरेको हो। गुट, उपगुट र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयम् कांग्रेसकै हो। पार्टीको आधिकारिक निर्णय कांग्रेसले किन लागू गर्न सकेन : यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेसकै कुरा हो,’ उनले भनेका छन्, ‘सत्ता गठबन्धनभित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआओस् भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकाले प्रदेश प्रमुखले बोलाउनुभएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौँ।’

माओवादीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा सधैँ इमानदारी भएर लाग्ने उनले जनाएका छन्। यसअघि तत्कालीन १ नं. प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री भएका आङ्बो कोशी प्रदेशमा माओवादीको प्रभावशाली नेता मानिन्छन्। सरल स्वभावका आङ्बो पाँचथरको निर्वाचन क्षेत्र १ (ख) बाट दोस्रोपटक निर्वाचित भएका हुन्।

शेखर समूहको आड र एमालेको साथमा मुख्यमन्त्री बने कांग्रेसका केदार कार्की

प्रकाशित: २७ असोज २०८० १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast