किन कार्यतालिकाअनुसार लोकसेवाले प्रकाशित गरेन सूचना?

हिमाल प्रेस २५ असोज २०८० ७:२८ | Thursday, October 12, 2023
किन कार्यतालिकाअनुसार लोकसेवाले प्रकाशित गरेन सूचना?

काठमाडौँ- सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार बुधबार प्रकाशन गर्नुपर्ने थियो। तर, लोक सेवा आयोगले सूचना निकालेर नै ‘विशेष कारण’ भन्दै प्रकाशन नगरेको जानकारी गरायो।

आयोगले कारण नखुलाए पनि थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा लोक सेवा आयोगले विज्ञापन प्रकाशन रोकेको हो।

सर्वोच्च अदालतले थारुलाई छुट्टै क्लस्टर बनाउनुपर्ने आदेश दिएपछि यस्तो समस्या आएको छ। सो विषयलाई सम्बोधन गर्ने कानुन नबनेको कारण सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार प्रकाशन भएन।

कहिले हुन्छ अब टुंगो पनि छैन। पछिल्लो समय राजपत्रांकित प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक) तथा अधिकृत प्रथम, राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा अधिकृत द्वितीयका सबै विज्ञापन रोकिएका छन्।

वार्षिक कार्यतालिका अनुसार खुला, बढुवा, आन्तरिक प्रतिस्पर्धा सबै किसिमका विज्ञापन भएनन्। २०८० असोज २३ को आयोगका निर्णयअनुसार २०८० असोज २४ मा प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणले प्रकाशन नभएको भन्दै सूचना नै जारी गरेको छ।

‘आयोगको वार्षिक कार्यतालिका २०८०/८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको व्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ बुधबार जारी सूचनामा उल्लेख गरिएको छ।

आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले विशेष कारणवस विज्ञापन प्रकाशन नभएको भन्दै आफूलाई विस्तृत जानकारी नदिएको बताइन्। उनले आयोगको इतिहासमा यसरी कार्यतालिका प्रकाशन नरोकिएको बताएकी छन्। ‘योभन्दा अगाडि यसरी वार्षिक कार्यतालिका रोकिएको थिएन। यो नै पहिलोपटक हो,’ उनले भनिन्।

सर्वोच्च अदालतले थारुलाई छुट्टै क्लस्टर बनाउनुपर्ने आदेश र त्यो आदेशअनुसार संघीय निजामती सेवा ऐनका नआउनु लगायतका कारणले यो रोकिएको आयोग स्रोतले बताएको छ।

प्रकाशित: २५ असोज २०८० ७:२८ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast