राजेन्द्र लिङ्देन /फाएल तस्बिर
काठमाडौँ- कोशी प्रदेशको सरकार गठनमा निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ। शुक्रबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख एवं प्रवक्त मोहनकुमार श्रेष्ठले जानकारी दिए।
कोशीमा नयाँ सरकार गठनको दाबी गर्नका लागि शुक्रबार नै साँझ ५ बजेसम्मका लागि प्रदेश प्रमुखले समय दिएका छन्। त्यसअघि सोही दिन बैठक बसेर राप्रपाले कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय लिन लागेको हो। कोशीमा राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेससहित गठबन्धनका ४ दल (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) का ४७ सांसद छन्।
सरकार बनाउनका लागि यो संख्या पर्याप्त भएपनि दुईपटकसम्म विश्वासको मत लिन नसकेकाले गठबन्धनले राप्रपाको साथ खोजेको छ। शुक्रबारको बैठकमा कोशी सरकार गठनकै विषयमा केन्द्रीत रहेर निर्णय गरिने उनले बताए।
अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी सरकार गठनमा सहयोग गर्न र सरकारमा सहभागी हुन आग्रह गरेका थिए। जवाफमा लिङ्देनले पार्टीको बैठक राखेर औपचारिक निर्णय लिने बताएका थिए।





