त्रिविबाट इजरायल गएका सय विद्यार्थी सुरक्षित

हिमाल प्रेस २३ असोज २०८० १६:५७ | Tuesday, October 10, 2023
त्रिविबाट इजरायल गएका सय विद्यार्थी सुरक्षित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट इजरायल गएका एक सय विद्यार्थी सुरक्षित रहेका छन्। संस्थानको डिन कार्यालयका अनुसार संस्थानबाट गएका सय विद्यार्थी जोर्डन भ्यालीको तीन वटा फार्ममा छन्।

संस्थान र इजरायलको जोर्डन भ्यालीको द किन्नेर्ट एकेडेमी कलेजबीच भएको सहमतिअनुसार एक सय जना विद्यार्थी इजरायल गएका थिए। उनीहरू पनि लर्न एन्ड अर्न ट्रेनिङ प्रोग्राममा इन्टर्नसिपका लागि त्यसतर्फ गएको संस्थानले जनाएको छ।

‘संस्थानअन्तर्गत विभिन्न क्याम्पस/कलेजमा अध्ययन गरी डिन कार्यालयको समन्वयमा इजरायल गएका सम्पूर्ण विद्यार्थी सम्पर्कमा आएका छन्’, डिन प्रा. भार्गव धितालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तीनवटा फार्ममध्ये च्याउ फार्ममा कार्यरत ७२ जना विद्यार्थीलाई असोज २२ गते बेलुकादेखि पाँचवटा फरकफरक बंकरमा राखिएको थियो।

ती विद्यार्थीलाई इजरायली सेनाको स्वीकृति र समन्वयमा अझ सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढेको जानकारी सम्बन्धित कलेज र इजरायलस्थित नेपाली दूतावासबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ असोज २०८० १६:५७ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast