हिक्मत कार्की। फाइल तस्बिर।
इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते शनिबार (आज) विश्वासको मत लिँदैछन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।
कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सहमति जुटेसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका कार्कीले यसपटक भने विश्वासको मत पाउन सक्ने अवस्था न्यून छ ।
९३ जना सांसदमध्ये नेकपा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
सभामुखविहीन कोशीमा उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन। दनुवार मतदानमा सहभागी नहुँदा एमालेका ३९ मात्रै सांसद रहन्छन्। यसअघि एमालेलाई समर्थन गरेको राप्रपाले यसपटक भने विश्वासको मतदानमा सहभागी नहुने बताइएको छ। यसकारण कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ।
यदि मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त हुने अवस्था भएमा मात्रै विश्वासको मत दिने अन्यथा नदिने राप्रपाले जनाएको छ। ‘हामीले विश्वासको मत दिँदा पनि वर्तमान सरकार टिक्दैन,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने ‘४२ जना देखाएमात्रै मत दिएर सहयोग गछौं । नत्र हामीले सहयोग गर्दा पनि त्यसको महत्व रहँदैन ।’
राप्रपाले मत दिँदा पनि कार्कीको पक्षमा ४५ मत मात्रै हुन्छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।
सर्वोच्च अदालतको परमादेशपछि बनेको एमाले संसदीय दलका नेता कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्। त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।





