काठमाडौँ- सत्ता टिकाउनको लागि सरकारबाट हुने गलत निर्णय रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ ।
नेपालगञ्जका रिगलु भनिने योगराज ढकाललाई आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेललाई ३ बुँदे ध्यानाकर्षण गराएको हो।
रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सोमबार राष्ट्रपतिलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।
ध्यानाकर्षण पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानुनी व्यवस्थाको पालना गर्न गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ।
‘नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक व्यवस्थाको सर्वोच्च निकायका रूपमा रहेको यस संस्थाको गरिमा र महिमाको रक्षा गर्न सम्माननीयज्यू स्वयं समेत सजग रहनुहुन सादर अनुरोध गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, विधिको शासन र कानुनी राज्यको व्यवहारिक प्रत्याभूतिका लागि र सरकारले राजनीतिक मनशायका साथ गरेका सिफारिस र गलत निर्णयको बोझले राष्ट्रपति जस्तो सम्मानित संस्थामा निरन्तर परिरहेको अबगाल न्यूनीकरण र नियन्त्रणमा यहाँबाट सकारात्मक पहलकदमी तथा विवेकपूर्ण निर्णयको अपेक्षा पनि गर्दछौं।’
चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। ढकाल तरूण दलका नेता हुन्।





