प्रधानमन्त्रीको भ्रमणले नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ : माओवादी केन्द्र

हिमाल प्रेस १४ असोज २०८० १७:११ | Sunday, October 1, 2023
प्रधानमन्त्रीको भ्रमणले नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ : माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले भ्रमणका क्रममा नयाँ ढोकाहरू खोलिएको बताए।

‘सहकार्य, सम्बन्ध र अन्य विषयमा नयाँ ढोकाहरू खुलेका छन्। हाम्रो असंलग्न परराष्ट्र नीतिका विषयमा स्पष्ट पार्ने र विश्वास दिलाउने काम भएको छ। उहाँहरूले पनि नयाँ ढोकाहरू खोल्नुभएको छ। यसअर्थमा नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ’, उनले भने।

कोभिड र अन्य विविध कारणले दुई देशबीच उच्चस्तरीय भ्रमण नभइरहेको स्थितिमा अहिलेको भ्रमणले उच्चस्तरीय भ्रमणको शृंखलालाई जोडेको उनले बताए। यसले विश्वासको वातावरण पनि बनेको उनको दाबी छ। भने, ‘हामीलाई थाहा छ, पछिल्लो समयमा संशय बढ्दै गएको थियो। प्रश्नहरू उठ्दै गएका थिए। ती सबै प्रश्न आज निवारण भएको छ। नेपाल-चीनबीचको सम्बन्धमा विश्वासको वातावरण बनेको छ।’

सापकोटाले प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा तीन पटक र पार्टी अध्यक्षको हैसियतले दुई पटक चीनका राष्ट्रपति सी चिनफिङलाई भेटेको भन्दै दुई नेताबीच भावनात्मक सम्बन्धले पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए।

‘चिनफिङ र प्रधानमन्त्रीका बीचमा वानटुवान कुराकानी पनि भयो। समूहमा पनि कुरा भयो’, उनले भने, ‘त्यसबाट संशय र प्रश्नहरू निवारण भएको छ। नयाँ स्तरमा सम्बन्ध सुदृढ हुने दिशातिर गइरहेको छ। सबैभन्दा ठूलो उपलब्धि भनेको यही हो।’ उनले यसपटकको भ्रमण आर्थिक विकास तथा दुई देशको विकासका लागि आधारमा तयार भएको बताए। यसपटक कामकाजी खालका सहमति भएको उनको भनाइ छ।

प्रकाशित: १४ असोज २०८० १७:११ | Sunday, October 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast