चीन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री दाहाल बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्नेछन्। स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ।
उनका साथमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित सदस्य छन्।
यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुगेका थिए। उनले चिनिया कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कामबारे जानकारी लिएका थिए।





