‘प्रधानमन्त्रीले जातीय राज्य बाँड्नुहुन्छ, उहाँकै पार्टीका सांसद गाईगोरु काटेर खान्छु भन्छन्’

हिमाल प्रेस ८ असोज २०८० १५:५७ | Monday, September 25, 2023
‘प्रधानमन्त्रीले जातीय राज्य बाँड्नुहुन्छ, उहाँकै पार्टीका सांसद गाईगोरु काटेर खान्छु भन्छन्’

काठमाडौँ- देशमा पछिल्लो समय देखिएको जातीय तथा धार्मिक तनावको विषयले नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाई देशमा जातीय तथा धार्मिक हिंसा गराउने प्रयास भइरहेको भन्दै नेतृत्वलाई सचेत गराएकी हुन्।

‘अस्ति मात्रै राज्यव्यवस्था समितिमा प्रहरी प्रमुखहरूले जातीय र धार्मिक आन्दोलनका लागि वडा वडामा समिति बनाएको खुलेको छ बताएका थिए’, उनले भनिन्, ‘उहाँहरू पूजा गर्नका लागि गठन गरिएको कमिटी हो भन्नु हुँदो रहेछ। तर खासमा गाईगोरु काटेर खान बनाइएको रहेछ।’

उनले बैठकमा बोल्दै हेर्दा सजिलो देखिए पनि धार्मिक र जातीय आन्दोलन भयो भने देशले थाम्न गाह्रो हुने पनि बताइन्। ‘यसलाई सबै दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ। धरानमा भड्काउन खोजिएको जातीय र धार्मिक हिंसाको झल्को अहिले सर्लाहीमा आएको छ’, उनले भनिन्, ‘अहिले त्यहाँ कर्फ्यु लागेको छ। त्यहाँ पनि एक जातले अर्को जातलाई घरबाट निकालेर कुट्ने काम भएको छ।’

उनले देश संकटमा गइरहँदा कांग्रेस ठूलो दल भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। ‘जनताले नेपाली कांग्रेससँग ठूलो आश गरेका छन्। सारा उपभोग्य कुरा महंगो हुँदा पनि सरकारले के हेरेर बसेको छ?’, उनले भनिन्, ‘सरकारमा हामी भए पनि जनताले महसुस गर्न सकेका छैनन्।’

उनले माओवादी लडाकुबाट आएर नेपाली सेनामा रहेका यामबहादुर अधिकारीको थप तीन वर्ष म्याद उपप्रधान तथा रक्षामन्त्रीलाई थाहा नदिइ थपिएकोबारे पनि बैठकमा जिज्ञासा राखिन्। प्रसाईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै जातीय राज्य भन्दै हिँडिरहेको भनेर आपत्ति जनाइन्।

‘प्रधानमन्त्री मलाई भोट हाल्नु, म तपाईंहरूलाई जातीय राज्य दिन्छु भन्छन्’, उनले भनिन्, ‘अनि उनकै सांसद संसद्‍मै आएर गोरु काटेर खान पाइन्छ भन्छन्। देशलाई प्रधानमन्त्रीले कता लैजान खोज्दै छन्?’

प्रकाशित: ८ असोज २०८० १५:५७ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast