बालसुधार गृहमा भएको मृत्युको सत्यतथ्य अनुसन्धान गर्न आग्रह

हिमाल प्रेस ५ असोज २०८० १७:२७
14
SHARES
बालसुधार गृहमा भएको मृत्युको सत्यतथ्य अनुसन्धान गर्न आग्रह

काठमाडौँ- वकालत मञ्च (एड्भोकेसी फोरम) नेपालले बालसुधार गृहमा भएको मृत्युको सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेको छ। विगत केही समयदेखि देशका तीनवटा बालसुधार गृहमा भएको बालकको मृत्यु तथा सुधारगृह तोडफोडको घटनाप्रति चिन्ता व्यक्त गर्दै मञ्चले यस्तो आग्रह गरेको हो।

‘भक्तपुर, पर्सा र बाँकेका बालसुधार गृहहरूमा भएको दुःखद घटनाले देशभरिका सुधार गृहहरूको अवस्था सामान्य नरहेको र त्यसलाई समाधानका लागि तत्काल कदम चाल्न जरुरी रहेको हाम्रो ठहर छ’, मञ्चले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भक्तपुर बालसुधार गृहमा भदौ ३ गते १८ वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएपछि बालकहरू तोडफोडमा उत्रिएका थिए। त्यसपछि १४ जना बालकलाई वीरगन्ज, १४ जनालाई हेटौँडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बालसुधार गृहमा सारिएको थियो।

भदौ २६ गते वीरगन्ज बालसुधार गृहमा ढुंगामुढा र तोडफोडको घटना भएको थियो। घटनामा संलग्न १५ बालकलाई जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतको महिला सेलमा राखिएको छ। त्यस्तै बाँकेको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बालसुधार गृहमा बिहीबार राति दुई पक्षबीच भएको झडपमा एक बालकको मृत्यु र ११ जना बालक घाइते भएका छन्।

मञ्चले सुधार गृहहरूमा भएका घटनाको यथाशीघ्र सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, बाल न्यायसम्बन्धी कानुन तथा संयन्त्रहरूको प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्न र उचित भौतिक पूर्वाधार निर्माण गर्न, पर्याप्त पोषणयुक्त खाजा तथा खानाको प्रबन्ध गर्न, शिक्षा तथा सीप विकास तालिमको व्यवस्था गर्न सरकारसँग माग गरेकको छ।

यसैगरी उमेर वर्गीकरण गरी बालबालिकालाई छुट्टाछुट्टै सुधारगृहमा राख्न र बालसुधार गृहहरूमा भएका समस्याहरूको पहिचान गरी यथाशीघ्र निराकरण गर्न पनि मञ्चले आग्रह गरेको छ।

प्रकाशित: ५ असोज २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =