बुध्दको एटिआर-७२ जहाजले सुरु गर्‍यो काठमाडौँ-सुर्खेत उडान

हिमाल प्रेस १ पुष २०७९ १६:२० | Friday, December 16, 2022
बुध्दको एटिआर-७२ जहाजले सुरु गर्‍यो काठमाडौँ-सुर्खेत उडान फाइल तस्बिर।

सुर्खेत– बुध्द एयरको एटिआर-७२ जहाजले शुक्रबारदेखि काठमाडौँ-सुर्खेत नियमित उडान सुरु गरेको छ। बुध्दले एटिआर जहाजमार्फत् नियमित उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको उनले जानकारी दिए।

प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।

बुद्ध एयरको एटिआर ७२ जहाजले काठमाडौँ-सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ। यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर-४२ जहाजमार्फत् उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो।

ठूला जहाजमार्फत् उडानले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोगी हुने विश्वास लिइएको छ। एटिआर (७२ जहाजमार्फत् नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ।

एटिआर-७२ जहाजमार्फत उडान सञ्चालन गर्दा काठमाडौँ-नेपालगञ्ज रुटको हाराहारीमा न्यूनतम भाडादर कायम हुने कम्पनीले जनाएको छ। ठूला जहाजमार्फत् उडानका लागि विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो। कोभिडपछि भने उक्त गन्तव्यमा नियमित उडान हुन सकेको थिएन। बुद्ध एयरले सन् २०१३ को फेबु्रअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेको थियो भने ५ वर्षदेखि एटिआर ४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको थियो।

प्रकाशित: १ पुष २०७९ १६:२० | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast