काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ। सोमबार राति हृदयघातका कारण निधन भएका उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ गरिने नेकपा (एमाले) ले जानकारी दिएको हो।
मंगलबार दिनभर उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ। ‘स्व. नेम्वाङले पार्टी, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुऱ्याएको योगदानको उच्च सम्मान गर्दै आज पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण गर्नुभयो,’ पार्टीका केन्द्रीय प्रचार तथा प्रसार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतले पार्टी कार्यालय पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिनेछ। त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिनेछ। त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिनेछ। नेम्वाङको निधनमा शाेक मनाउन सरकारले साेही दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।