कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यस वर्ष तिथि परिवर्तनका कारण सुदूरपश्चिमेलीहरूले दुई पटक गौरा मनाए।
यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन्। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेँडागुडी) राखेर सुरु हुन्छ। पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा सुरु हुने मानसखण्ड पञ्चाङका सम्पादक आचार्य धनश्याम लेखकले बताए।
‘यो मानसी नारीको उपाक्रम हो एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गरिन्छ’, उनले भने, ‘पुरुषले जनै धारण गरेजस्तै महिलाले दुवधागो लगाइसकेपछि मात्रै उनीहरुलाई वेद पढ्ने अधिकार मिल्ने गर्दछ त्यसैले यो महिलाको महत्वपूर्ण पर्व हो।’
गौरामा महिलाले स्थानीय भाषामा रहेको सगुन तथा फाग गाउने उनले बताए।
फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए।
‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्धी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसंग यस फागमा आउँछ’, भट्टले भने, ‘यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो।’
यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताए।