फाइल तस्बिर।
काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरू सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताए। सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन? भन्दै घिमिरेले प्रश्न गरे। संसद जनताप्रति उत्तरदायी हुन जरुरी रहेको उनको भनाइ छ।
‘हामीले समितिमार्फत सरकारका कामको निगरानी, निरीक्षण, योजना बनाउन लगाउने र सुझाव दिने काम गर्छौं। तर, यो प्रभावकारी छ जस्तो लाग्दैन। यो औपचारिक हिसाबले यो कुराहरू हुने गर्छ,’ घिमिरेले भने, ‘समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्न तयार किन छैन्? या तयार छ हामीले देखिरहेका छैनौँ। यसलाई पनि समीक्षा गर्न जरुरी छ।’
जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेकोमा जोड दिए। विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ छ।
‘जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी छ। विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्छ,’ घिमिरेले भने, ‘हाम्रो काम मूलतः नीति निर्माण गर्ने नै हो। नीति निर्माण गर्दा हाम्रो आवश्यकता के हो ? हाम्रो वस्तुगत स्थिति के हो ? विश्वव्यापी कन्टेक्स्टमा पनि हाम्रा स्टेप्सहरू के हुन सक्छन् ? यो कुरालाई ध्यान दिनुपर्छ।’
देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद क्रियाशील बन्नुपर्ने घिमिरेको भनाइ छ। देशको पछौटेपन अन्त्य गर्न आर्थिक रूपमा सबल बन्नुपर्ने उनले बताए। संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उनको स्वीकारोक्ति थियो।




