सशस्त्र प्रहरीका साढे ८ हजार जवानको एकै पटक सरुवा

हिमाल प्रेस २८ मंसिर २०७९ २१:५८ | Wednesday, December 14, 2022
सशस्त्र प्रहरीका साढे ८ हजार जवानको एकै पटक सरुवा

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले एकै पटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ। सरुवा प्रयोजनको लागि केही समय अघिमात्र देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकताअनुसार ३ वटा युनिटको नाम लेखाएर फारम नै भराइएको थियो।

सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा मंगलबार सरुवा गरिएको छ। यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ। सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाईसमेत उच्च प्राथमिकतामा राखिएको थियो।

यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ। घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ।

विगतदेखिकै सरुवासम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान् श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ। मुख्यालयले फारम भराएर जवानहरूको इच्छाअनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो ।
यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासोसमेत कम हुँदै जाने मुख्यालयको विश्वास छ।

अब बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर विस्तारै सरुवा गरिने नीति सशस्त्र प्रहरी बल,नेपालले लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०७९ २१:५८ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast