सुदूरपश्चिम विवि पनिकामा अनेरास्ववियूको तोडफोड

हिमाल प्रेस १५ भदौ २०८० १६:२३
16
SHARES
सुदूरपश्चिम विवि पनिकामा अनेरास्ववियूको तोडफोड

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो। परीक्षा नियन्त्रक देवसिंह नाथले १२/१५ जना समाजवादीका नेताकार्यकर्ता कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए।

‘सहपरीक्षा नियन्त्रक र म परीक्षाको आगामी रणनीतिबारे कुराकानी गर्दै थियौँ’, परीक्षा नियन्त्रक नाथले भने, ‘एक्कासि कार्यकक्षमै आएर विद्यार्थीको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटर तोडफोड गरेका छन्।’ आक्रमणबाट सहायक परीक्षा नियन्त्रक वीरवहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ।

उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्त्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताए। ‘अहिलेकै अवस्थामा परीक्षासम्बन्धी कुनै पनि काम गर्न सकिने अवस्थामा छैन। मुख्य कम्प्युटरमा नै क्षति भएको छ’, उनले भने, ‘कार्यकक्षमा आएर तोडफोड गर्ने विरुद्ध प्रहरीमा निवेदन दिएका छौँ।’

एक महिनाअघि समाजवादी निकट विद्यार्थी संगठनले छैटौँ सेमेूटरको समाजशास्त्र विषयको प्रशनपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो। गत साता स्वतन्त्र विद्यार्थीले तालाले परीक्षा पछि धकेलिँदै गएको भन्दै ताला तोडेका थिए।

विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो। समाजवादी निकट विद्यार्थी संगठनले आफूहरूको भागमा पनि क्याम्पस प्रमुख र विभागीय प्रमुखमा हुनुपर्ने माग गर्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गरेको विश्वविद्यालयले जनाएको छ।

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना हुनुमा परीक्षा नियन्त्रक देवसिंह नाथ र विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको दाबी गरेको छ। अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको संगठनले ताडफोड नगरेको बताए। ‘हाम्रो संगठनले कहीँ पनि तोडफोड गरेको छैन’, संयोजक पन्तले भने, ‘प्रश्नपत्र दोहोरिएको विषयमा हामीले परीक्षा नियन्त्रक र सहनियन्त्रकको कार्यकक्षमा ताला लगाएका थियौँ। तिनीहरूका गुन्डाले हाम्रो ताला तोडेको हुन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast