अर्थमन्त्री महत भन्छन्- १२ कक्षा पास गरेपछि विदेश जानैपर्छ भन्ने मानसिकता बदल्न आवश्यक छ

हिमाल प्रेस १४ भदौ २०८० १७:४५ | Thursday, August 31, 2023
अर्थमन्त्री महत भन्छन्- १२ कक्षा पास गरेपछि विदेश जानैपर्छ भन्ने मानसिकता बदल्न आवश्यक छ

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत १२ कक्षाको अध्ययन सकिने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्। उनले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिबिनाको विदेशमा अध्ययनका लागि जान नहुने बताए।

अर्थमन्त्री महतले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न सक्ने राम्रो अवसरसमेत पाउन नसकेको बताए। उनले नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रा क्याम्पसमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता भए पनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए।

अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए। उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरू आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए। उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्ड बराबरको सफ्टवेयरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको बताए। उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे।

अर्थमन्त्री महतले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए।

प्रकाशित: १४ भदौ २०८० १७:४५ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast