एसिया कपमा नेपाल : स्मृति सिर्जना गर्ने अवसर

हिमाल प्रेस १२ भदौ २०८० ९:२९ | Tuesday, August 29, 2023
एसिया कपमा नेपाल : स्मृति सिर्जना गर्ने अवसर

काठमाडौँ-  सिद्धान्ततः खेल जित्नैका लागि खेल्ने हो। तर यो नियम व्यावहारिक रूपमा हरेक समय लागू हुँदैन।

कतिपय टिमका लागि कुनै प्रतियोगितामा छानिनु नै सफलता हो। फेरि जित मात्र पनि त सफलताको मानक होइन। हारको पनि अनुभव काम लाग्छ।

त्यस्ता हार जुन पनि आफूभन्दा निकै बलियासँग भोगिन्छ। यही परिस्थितिबाट गुज्रिँदै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप खेल्न यति बेला पाकिस्तानमा छ।

एसिया कप त्यसै पनि एसियाका सबैभन्दा बलिया टिम खेल्ने प्रतियोगिता हो। त्यसमाथि नेपाल त भारत र पाकिस्तानको समूहमा परेको छ। संयोगवश एसिया कपको उद्घाटन खेल नेपालको भागमा परेको छ। त्यो पनि घरेलु टिम पाकिस्तानविरुद्ध।

भारतसँगको खेलका लागि भने नेपाल श्रीलंका जानेछ। प्रख्यात मुल्तान क्रिकेट रंगशालामा नेपालले सामना गर्ने पाकिस्तान फगत आयोजक मात्र होइन, हाल हाल एकदिवसीय क्रिकेटमा सर्वाधिक बलियो टिम पनि हो।

नेपाली क्रिकेट टोलीलाई अभ्यास गराउँदै प्रशिक्षक भन्टी देशाई। तस्बिर : क्यान

पाकिस्तानका कप्तान बाबार आजमसहित अन्य केही खेलाडी लोभलाग्दो लयमा छन्। आजम हाल विश्व एकदिवसीय क्रिकेटका सबैभन्दा उम्दा ब्याट्सम्यान हुन्। एकदिवसीय वरीयतामा उनी शीर्षस्थानमा छन्। पाकिस्तानका इमाम उल हक र फकर जमान पनि शीर्ष पाँचमा छन्।

भारत त सदाबहार बलियो टिम भइहाल्यो। एकदिवसीय वरीयतामा भारत हाल तेस्रो स्थानमा छ। हुन त नेपाली टिमका लागि पाकिस्तान र भारतको वरीयताले अर्थ राख्दैन। किनभने यी दुई टिम विश्व क्रिकेटका एलिट टिम हुन्।

जोसँग नेपाल पहिलो पटक आमनेसामने हुँदैछ। यी दुई टिमसँग खेल्ने सपना नेपालले लामो समयदेखि देखेको हो। आफ्नै भूमिमा भएको एसीसी प्रिमियर कप जितेपछि नेपाल एसिया कपमा छनोट भएको हो।

त्यसबेला यो प्रतियोगिता जितेकोमा भन्दा भारत र पाकिस्तानसँग खेल्न पाउने कुराले नेपाली समर्थक उत्साहित बनेका थिए। भारत र पाकिस्तानकै खेल हेरेर हुर्किएका नेपाली समर्थक त्यसरी उत्साहित हुनु स्वाभाविक थियो।

समर्थक मात्र किन, खेलाडीको पनि भुइँमा खुट्टा छैन। फेरि पाकिस्तानमा नेपाली टिमलाई स्वागत पनि त्यसरी नै गरिएको छ। सामाजिक सञ्जालमा नेपाली टिम सम्बन्धी सामग्री निरन्तर हालिएको छ।

सोमबार पाकिस्तानी टिमका स्टार खेलाडी मोहम्मद रिज्वानले सोमपाल कामी र कुशल मल्लसँग कुराकानी गर्दै गरेको भिडियो भाइरल बन्यो। पाकिस्तानका तर्फबाट नेपाली टिम सम्बन्धी जति पनि डिजिटल सामग्री बाहिर आएका छन्, तिनले नेपाली समर्थकलाई फुर्काएको छ।

नेपाली क्रिकेटले हालसम्म हैसियत अनुसारको सफलता पाएकै छ। यद्यपि एउटा प्रश्नले नेपाली क्रिकेटलाई नलखेटको होइन। त्यो प्रश्न थियो, विद्यमान हैसियतबाट माथि कहिले उक्लिने?

एसिया कप सहभागिताले त्यस्तो प्रश्नलाई धेरथोर सन्तुष्ट बनाएको हुनुपर्छ। तर सँगसँगै अर्को प्रश्न पनि छँदैछ, के नेपालले यस्ता ठूला टिमसँग खेल्ने हैसियत बनाइरहन सक्छ? अहिलेलाई त्यता जानु आफैँलाई दुःखी बनाउनु हो।

यो समय त बस् यत्तिका लागि हो, नेपाली खेलाडीहरु विश्व क्रिकेटका एकसेएक खेलाडीसँग भिडिरहेको हेर्ने। सोमपाल र कुशलसँग बात मारिरहँदा रिज्वान भन्दै थिए, ‘नेपाली टिम एसिया कपसम्म आइपुग्न योग्य छ। एसिया कप खेल्ने हक कमाएको छ।’ रिज्वानले तारिफ गरिरहँदा यहाँ भुल्न नहुने तथ्य यही हो, एसिया कप नेपाली खेलाडीका लागि आफ्नो प्रतिभा देखाउने मञ्च हो। यस्तो मञ्च जहाँ स्मृति बन्नसक्छन्।

स्मृति नतिजाले निर्देशित हुने छैनन्। पाकिस्तान र श्रीलंकामा बन्ने स्मृतिले नेपाली क्रिकेटलाई उद्वेलित बनाउनेछ। हासिल हुने अनुभवले खेलाडीहरुलाई चैन मिल्ने नै छ। नयाँ पुस्ताका खेलाडी पनि लोभिने छन्। तसर्थ एसिया कप नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण मोड हो।

हरेक समर्थकलाई थाहा छ, मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि भनेकै छन्, नेपाल जितका लागि खेल्ने छैन। बरु मिठो अनुभव सँगाल्न खेल्ने हो। ‘हाम्रा खेलाडीहरुले पाकिस्तान र भारतका यी खेलाडीहरुलाई टेलिभिजनमा मात्र देखेका थिए। एसिया कपले उनीहरुसँग भिड्ने मौका दिएको छ,’ देशाईले भनेका छन्।

देशाईको भनाइले कप्तान रोहित पौडेल र उनका साथीहरुलाई दबाबमुक्त बनाएको हुनुपर्छ। आखिर दबाब किन पनि सिर्जना गर्नु? वा महसुस गर्नु? स्मृति त उमङ्घमा खेल्दा मात्र सिर्जना हुने हो।

प्रकाशित: १२ भदौ २०८० ९:२९ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast