वीरगञ्ज- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेश आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन्।
समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज (शुक्रबार) आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘यतिबेला जनयुद्ध र मधेश आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ।’ यो दुःखद कुरा भएको र यसलाई गम्भीर रूपमा लिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उनले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पारे।
विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्याउने उनको भनाइ छ।
यसबाहेक सरकारले मधेशमा ठूलो समस्याको रूपमा देखिएको मिटरब्याजी पीडितहरूको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले चर्चा गरे। मधेशको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उनले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गरे। रासस




