पोखरा- पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा)ले आत्महत्या गरेकी छन्। २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।
जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) लगिएकोमा पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ मा निधन भएको हो।
चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन्। ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन्।
उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो। त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो। चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिँदै शवमा झण्डा ओढाएको थियो ।
पोखरा २०, भलाममा २०५५ साल पुस २७ मा जन्मिएकी उनको गत वर्षमात्र विवाह भएको थियो। उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन।
चलचित्र पत्रकार संघ कास्कीतर्फबाट अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले शोक विज्ञप्तिमार्फत कार्यसमिति सदस्य क्षेत्रीको असामयिक निधनले संघ परिवार मर्माहत र स्तब्ध भएको जनाएका छन्।
‘यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। कार्यसमिति सदस्य भएर संस्थाप्रति पुर् याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई चलचित्र पत्रकार संघ कास्की सधैं स्मरण गरिरहनेछ,’ शोक विज्ञप्तिमा उल्लेख छ ।