फाइल तस्बिर।
काठमाडौँ- सत्ता गबठन्धनअन्तर्गत समाजवादी मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टी फेरि आन्दोलित हुने भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन हुन नदिने घोषणा गरेको हो।
एमसीसी कार्यान्वयन गर्ने दिन नजिकिँदै जाँदा नेकपाले त्यसलाई अवरोध गर्न आन्दोलनको घोषणा गरेको छ।
एमसीसी परियोजना नेपालमा बसेर चीन घेर्ने अमेरिकी रणनीति भएको उल्लेख गर्दै नेकपाले एमसीसी कार्यानवयन हुन दिए नेपाल अमेरिकी सैन्य अखाडा हुनुका साथै ‘युक्रेन’ बन्ने चेतावनी दिएको छ।
संसदले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेको स्मरण गर्दै नेकपाले एमसीसी कार्यान्वयन हुन कम्तिमा ती १२ बुँदा सच्याउनुपर्ने स्पष्ट देखिएको बताएको छ।
एमसीसी रोक्न सो दलले अन्तरक्रियादेखि जनप्रदर्शनसम्मका कार्यक्रम तय गरेको छ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा घोषित कार्यक्रम अनुसार एमसीसीको पुत्ला दहन, एमसीए प्रमुखको पुत्ला दहन, देशब्यापी जनपदर्शन, अन्तरक्रिया कार्यक्रम लगायत तय गरिएको छ। उनी पछिल्लो समय सत्ता गठबन्धनको समाजवादी मोर्चामा थिए।
यस्ता छन् कार्यक्रम
विप्लवद्वारा हस्ताक्षरित वक्तव्यमा भदौ ६ गते देशव्यापी वालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ।
वक्तव्यमा भनिएको छ,‘अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसद्ले पास गरेको १२बुँदे टिप्पणीप्रति पनि कुनै वास्ता गरेन। यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य छ भन्दै यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ र नागरिकहरु पछुताउनु पर्नेछ।’




