कोशी प्रदेश : प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारी

हिमाल प्रेस ५ भदौ २०८० १६:५० | Tuesday, August 22, 2023
कोशी प्रदेश : प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारी

इटहरी– कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। उपसभामुख सिर्जना दनुवार बिदामा रहेको र उपसभामुख दनुवारले सभाध्यक्षको जिम्मेवारी दिइएका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्वव थापालाई विश्वासको मत दिएको भन्दै एमालेले समग्र प्रक्रियाकै विरोध गर्ने जनाएको छ।

बुधबार बस्ने भनिएको प्रदेशसभाको बैठक चल्न नदिने एमालेको रणनीति बुझिएको छ। ‘एमालेले सदन चल्न दिन्छ जस्तो लाग्दैन,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘यस्तो परिस्थितिमा अधिवेशन अन्त्य गरेर अर्को विधिबाट बजेट ल्याउनुपर्ने हुन सक्छ।’

भदौ १० गतेसम्ममा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन गरिसक्नुपर्ने कानुनी बाध्यता छ। तर, उक्त प्रतिस्थापन विधेयक ल्याउन संसद् चल्नुपर्छ। एमालेले सदन नै चल्न नदिने हुँदा पुनः अर्को अध्यादेश ल्याउन आफूहरूको बाध्यता भएको आङ्बोले बताए।

कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो। मुख्यमन्त्री कार्कीले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ मा अन्त्य गरी भोलिपल्ट जेठ ३२ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए।

उक्त बजेटमा चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट अध्यादेश गत असार १४ गते बसेको प्रदेशसभाको बैठकमा पेस भइको थियो। तर, पारित भएको छैन। अहिले सरकारमा भएका राजनीतिक दलहरूले त्यसबेला प्रदेशसभामा पेस भएको उक्त अध्यादेशलाई स्वीकार गर्दै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेका छन्।

प्रकाशित: ५ भदौ २०८० १६:५० | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast