प्रधानाध्यापक भट्ट ६ दिनदेखि बेपत्ता

हिमाल प्रेस ४ भदौ २०८० १६:४७ | Monday, August 21, 2023
प्रधानाध्यापक भट्ट ६ दिनदेखि बेपत्ता

काठमाडौँ- दार्चुलाको लेकम गाउँपालिका-२ बिटोरास्थित श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अनिरुद्ध भट्ट विगत ६ दिनदेखि बेपत्ता भएका छन्। गत बुधबार (साउन ३१ गते) दिउँसो करिब १ बजेदेखि हराएका भट्ट सोमबारसम्म फेला परेका छैनन्।

उनका भाइ लोकेन्द्र भट्टले आमाले दिउँसोको खाना पकाइरहेका बेला घरबाट निस्केका दाजु अझैसम्म फेला नपरेको बताए। ‘३१ गते दिउँसो करिब १ बजेतिर घरबाट निस्कनुभएको हो। आज पनि खोज्न गएका थियौँ, भेटिनुभएको छैन,’ प्रधानाध्यापक लोकेन्द्रले हिमाल प्रेससँग भने, ‘आमा खाना बनाउँदै हुनुहुन्थ्यो, दाइ बाहिर बसेर आँप खाँदै हुनुहुन्थ्यो, पछि खाना बोलाउँदा त भेटिनुभएको छैन।’

लोकेन्द्रका अनुसार घरबाट करिब पाँच सय मिटर तल भीर छ। भीरको डिलमा बुधबार दिउँसो नै चप्पल फेला परेका थिए। ‘त्यो भीरमा, त्यसको मुनि पनि खोजिसक्यौँ’, उनले भने, ‘रातामाटा चौकीले पनि खोजिरहेको छ। चौपाता इलाका प्रहरी खोजिरहेको छ।’

प्रधानाध्यापक भट्टको परिवार, छिमेक, विद्यालय कहीँकतै पनि विवाद रहेको पाइएको छैन। ‘घरमा भाउजू, आमा र दाइमात्रै हुन्हुन्थ्यो,’ लोकेन्द्रले भने, ‘उहाँहरूसँग केही विवाद थिएन। छिमेकसँग पनि विवाद भएको बुझिएको छैन।’

भट्टका दुई जना छोरामध्ये एक जना इन्जिनियर र एक जना डाक्टर छन्। बा हराएको थाहा पाएपछि तनहुँमा रहेका इन्जिनियर धनुष र धनगढीमा रहेका डाक्टर वीरेन्द्र दुवै जना घर फर्किएका छन्।

लकेम गाउँपालिका वडा नम्बर-२ अध्यक्ष शिवराज जोशीले हराएका प्रधानाध्यापकको खोजी जारी रहेको बताए। ‘हामीले पनि खोजिरहेका छौँ। नजिकको प्रहरी चौकी बैतडीको शेरा प्रहरी चौकीमा पनि खबर गरेका छौँ,’ जोशीले भने, ‘जिल्ला प्रहरी कार्यालय र बैतडी जिल्ला प्रहरीका कायर्लयमा पनि खबर गरेका छौँ। कहीँबाट पनि फेला पर्नुभएको खबर आएको छैन।’ वडाध्यक्ष जोशीले पनि घरपरिवार, विद्यालय तथा छिमेकमा कसैसित पनि प्रधानाध्यापक भट्टको झैजगडा वा विवाद नरहेको बताए।

प्रकाशित: ४ भदौ २०८० १६:४७ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast