काठमाडौँ- नेकपा एमाले आफ्ना सार्वजनिक कार्यक्रमका लागि ५ बुँदे मापदण्ड बनाएको छ।
गत सोमबार बसेको सचिवालय बैठकबाट उक्त मापदण्ड तय गरिएको हो।
बुधबार एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गरेका हुन्।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार अब कुनै पनि कार्यक्रममा अतिथि र सहभागीहरु एकै स्थानमा अर्थात दर्शक दीर्घामा बस्नेछन्।
सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय परिपत्रमार्फत पठाइने उनले उल्लेख गरेका छन् ।
रिमालका अनुसार कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको हो ।
यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथिलगायत व्यक्तिलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन पार्टीपंक्तिलाई निर्देशन दिइने रिमालले जनाएका छन् ।
आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नीति एमालेले लिएको छ ।
एमाले अध्यक्ष ओलीले पनि आसनग्रहणलगायत विषयमा निर्णय गरिएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।
यी हुन ५ निर्णय
१. कार्यक्रमको गरिमा र मर्यादा बढाउन पार्टी तथा जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने।
२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने।
३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने।
४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने।
५. कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने।




