झोलुंगे पुलको जिल्लामा पनि फड्केको बाध्यता

हिमाल प्रेस २९ साउन २०८० १४:०३ | Monday, August 14, 2023
झोलुंगे पुलको जिल्लामा पनि फड्केको बाध्यता

बागलुङ- झोलुंगे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरू जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन्।

हिउँदको समयमा खोला तथा खहरेखोलामा पानीको बहाव कम हुँदा सहजै वारपार गरे पनि बर्खामा खोला भने जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन्।

बागलुङको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घण्टौँ लगाएर लामो यात्रा गरिरहेका छन्। कतिपय ठाउँमा स्थानीयवासीले जनश्रमदान गरी काठको फड्के बनाएर वारपार गर्ने गरेका छन्। फड्केमा वारपार गर्न निकै जोखिम हुन्छ।

वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गलकोट नगरपालिका–२ मा स्थानीय खानीखोलामा पड्के बनाएका वारपार गरिरहेका छन्। वर्षौँदेखि यहाँ पुल निर्माणका लागि सरोकारवाला निकायलाई माग गरे पनि अहिलेसम्म चासो नदिएको स्थानीयवासी घनबहादुर रानाले गुनासो गरे। खानीखोला हिउँदमा निकै सानो हुने हुँदा बालबालिका पनि तर्नसक्ने भन्दै बर्खामा कोही वारपार गर्न नसक्ने उनको भनाइ छ।

खोला बढेपछि आफूहरूले जंगलबाट काठ ल्याएर फड्के बनाएर अहिले वारपार गरिरहेको रानाले बताए। ‘यो खोलामा पुल बनाउनका लागि धेरै पटक माग गरियो, अहिलेसम्म पुल बनेको छैन’, उनले भने, ‘बर्खामा धेरै गाह्रो हुने, केटाकेटीलाई एक्लै विद्यालय पठाउन डर, हामी पाका मान्छेलाई त फड्के तर्दा कतै खोलामा खसिन्छ कि भन्ने डर हुन्छ।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलेकाट क्षेत्रमा धेरै खोलानाला भएको हुँदा एकै पटक सबैतिर झोलुंगे पुल निर्माण गर्न नसकेको बताए।

वडा नं २ को खानीखोला खोलामा पुल निर्माणका लागि योजना छनोट गर्ने बेला प्राथमिकतामा राखेर प्रदेशमा बजेट मागे गरेको भन्दै केही समयमै यहाँ पुल निर्माण गर्ने भण्डारीको भनाइ छ।

खानीखोलामा बर्खामा मध्यपहाडी लोकमार्गको भल सबै यही मिसिने हुँदा पानीको सतह बढेर वारपार गर्न कठिनाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

“गलकोट क्षेत्रमा धेरै ठाउँमा पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन्, पालिकाले सबैतिर एकै पटक पुल बनाउने क्षमता हुँदैन । सीमित स्रोतसाधान प्रयोग गरेर काम गर्नुपर्ने बाध्यता छ, तर प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आवश्यक स्थानमा पुल निर्माण गर्छौँ, त्यो राम्रो प्राथमिकतामा छु’, उनले भने।

निसीखोला, तमानखोला, भूजीखोला, काठेखोला, ताराखोला, बडिगाडलगायत बागलुङमा ठूलाठूला खोला छन्। यी खोलाका धेरै ठाउँमा झोलुंगे पुल निर्माण भइसकेको छन् । अझै धेरै निर्माण हुनुपर्ने आवश्यक देखिन्छ। ओल्लो गाउँ र पल्लो गाउँ देख्दा नजिक देखिन्छन् तर बीचमा रहेका खोलाको कारण वारपार गर्न घण्टौँ लाग्ने गर्दछ।

निसीखोला गाउँपालिका–४ झिम्पा र वडा नं ५ कारीगाउँ नजिकै पर्छन् । तर बीचमा पुल नहुँदा वारिपारी गर्न आधा ४५ बढी समय लाग्ने स्थानीय कमल विकले बताए। कारीखोलामाथि पुल निर्माण भए तीन मिनेटमै वरपार गर्न सकिने बताउँछन्। अहिले खोलामा बनाइएको साँघु तरेर वारपार गरिरहेको उहाँको भनाइ छ।

‘दुई गाउँ एकैपट्टी छन्, बीचमा खोला हुँदा आउँजाउ गर्न एक घण्टा बढी लाग्छ, स्थानीयको जग्गाजमिन वारपार छन्, फसल ल्याउँदा सास्ती हुन्छ, यहाँ पुल भएको हुन्थ्यो भने हामीलाई धेरै सजिलो हुन्थ्यो’, उनले भने।

कारिखोलामाथि झोलुंगे पुल निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा सर्भे भएर काम सुरु भए पनि बजेट कटौटी हुँदा पुल बन्न सकेको छैन। चालु आर्थिक वर्षमा पुल निर्माण सम्पन्न गर्ने निसीखोला गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २९ साउन २०८० १४:०३ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast