काठमाडौँमा पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस

हिमाल प्रेस २९ साउन २०८० १३:५८
2
SHARE
काठमाडौँमा पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस

काठमाडौँ – दक्षिण एसियाली मुलुक पाकिस्तानले आफू अंग्रेजबाट स्वतन्त्र भएको दिनलाई स्मरण गर्दै आफ्नो स्वतन्त्रता दिवस विश्वभर मनाएको छ। काठमाडौँस्थित दूतावासले पनि सोमबार पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस मनाएको छ। नेपालका लागि पाकिस्तानी कार्यवाहक राजदूत उमर अलीले पाकिस्तानको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए।

उनले दूतावासमा पाकिस्तानको झण्डा अंकित केक पनि काटे। कार्यवाहक राजदूत अलीले आफ्नो समुदायसँग अंग्रेजबाट भारतभन्दा एक दिन पहिले स्वतन्त्र भएको अनुभूति बाँडेका थिए। कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरू र पाकिस्तानी समुदायको सहभागिता थियो। राजदूत हाश्मी बिदामा छन्। उनी शनिबार पाकिस्तान गएका कारण कार्यवाहक राजदूतले झन्डोत्तोलन गरेका थिए।

सोही अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो। कार्यक्रममा कार्यवाहक राजदूत अलीले मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गरे। उनले जम्मुकश्मीर विवादको उल्लेख गर्दै त्यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको चाहना तथा संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार लामो समयदेखि चलिरहेको विवादको समाधान अपरिहार्य रहेको बताए।

चार दिनअघि नै पाकिस्तानले आफ्नो ७६औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल–पाकिस्तानमैत्री तथा सांस्कृतिक संघले राजधानीमा स्वागत समारोहको आयोजना गरेको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिसमेत थियो।

उक्त कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसेन हाश्मीले नेपाल र पाकिस्तानबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा पाकिस्तानले सक्दो सहयोग गर्ने बताएका थिए। सन् १९६० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सम्बन्ध प्रगाढ हुँदै गएको जिकिर गर्दै राजदूत हाश्मीले भने, ‘नेपाल र पाकिस्तान दुवै देशले जलवायुलगायत साझा चासोको विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझेदारी गर्दै आएका छन्। प्राकृतिक प्रकोपलगायतका समस्यामा पनि दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएका छन्।’

प्रकाशित: २९ साउन २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast