काठमाडौँ- काठमाडौँमा भारी वर्षा हुँदा नदीहरूमा जलसतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको जनाएको छ ।
भारी वर्षाका कारण विष्णुमती, धोवीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कताको तहमा पुगेकोले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले चेतावनी दिएको छ।
यस्तै बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपासमा पनि भारी वर्षा भएको छ। यी क्षेत्रमा थप वर्षा हुने देखिएको मौसमविद्ले बताएका छन्।
कोखाजोर खोला, मरिन खोला र आसपासका ससाना खोलामा अकस्मात बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहने विभागले जनाएको छ। यी क्षेत्रमा आज दिउँसो १ बजे सम्म उच्च सतर्कताका अपनाउन विभागले आग्रह गरेको छ।