काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार गएको पहिरोमा परी बेपत्ता हुने ११ नेपालीको सनाखत भएको छ।
एकै परिवारका सात जना सहित थप ४ जना बेपत्ता भएको जुम्लास्थित पारातासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंग बोहोराले जानकारी दिए।
उनका अनुसार बेपत्ता हुनेमा २७ वर्षका उम्मिद बोहोरा, उनकी पत्नी अनिता बोहोरा तथा छोरीहरू ११ वर्षीया सलिना बोहोरा, ९ वर्षीया पिंकी बोहोरा, ६ वर्षीया सलिना बोहोरा, चार वर्षीय छोरा जर्तिल बोहारा र १४ महिनाका छोरा वकिल बोहोरा रहेका छन्।
बेपत्ता हुनेमा धनराज बुढा, चन्दन नेपाली, सुकराज रावत र धनथल बोहोरा रहेका छन्। उनीहरूको खोजी कार्य जारी छ। ‘हामीले संघीय सरकारसँग समन्वय गरेर खोजी कार्य जारी राखेका छौँ,’ अध्यक्ष बोहोराले भने।
बेपत्ता अधिकांश मानिस होटल व्यवसायमा संलग्न रहेको अध्यक्ष बोहोराले जनाएका छन्। अविरल वर्षाका कारण गौरीकुण्ड पोस्ट पुलनजिकैको पहिरोले तीन पसलमा क्षति पुर्याएको छ।
भारतीय सञ्चारमाध्मका अनुसार रुद्रप्रयागका प्रहरी उपरीक्षकले बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको जनाएका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी घटनाबारे जानकारी लिएको बताइएको छ।