काठमाडौँ- विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र’ उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरिएको छ।
पार्टी अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई मंगलबार मानचित्र हस्तान्तरण गरेको हो। पार्टीले नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन अभियान सुरु गरिएको जनाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘एसियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धिअगाडिको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहर समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तूपसम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्त्विक महत्त्वका सम्पदा समेटिएका छन्।’
गौरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदानसम्म’ का धरोहर नक्सांकन गरिएको छ। साथै धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्त्विक सम्पदालाई झल्काइएको पार्टीले जनाएको छ।
सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालालाई स्मरण गराउन अभियान थालेको पार्टीको विज्ञप्तिमा उल्लेख छ।