बन्चरेडाँडावासीलाई दुर्गन्धबाट मुक्त गर्न निगरानी समितिको माग

हिमाल प्रेस ९ साउन २०८० १४:१३ | Tuesday, July 25, 2023
बन्चरेडाँडावासीलाई दुर्गन्धबाट मुक्त गर्न निगरानी समितिको माग

काठमाडौँ- जवाफदेहिता निगरानी समितिले अव्यवस्थित फोहोरका कारण बन्चरेडाँडा आसपासका बासिन्दाको जीवनयापन अत्यन्तै विकराल भएको भन्दै तत्काल उनीहरूका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गरिएको उक्त स्थानमा खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिँगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण स्थानीय बासिन्दाको जीवनयापन कष्टकर भइरहेको समितिको ठहर छ।

समितिले फोहोर व्यवस्थापनसँग मात्र सम्बन्धित नभई स्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उल्लंघनसँग गाँसिएको विषय भएकाले समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ। ‘ल्यान्डफिल साइटको अस्तव्यस्तताका कारण नेपालको संविधान २०७२ द्वारा मौलिक हकको रूपमा भाग ३ मा स्थापित स्वास्थ्य, स्वच्छ वातावरण, तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्यक्ष उल्लङ्घन भएको यस समितिको ठहर छ’, समितिका संयोजक चरण प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘फोहोर र मानव बस्ती एकै स्थानमा कदापि रहन सक्दैनन्’ भन्ने स्थानीय वासीको एकल माग तत्काल सम्बोधन गर्न र स्थानीयको अधिकार र कल्याणलाई उच्च प्राथमिकतामा राखी विद्यमान संकटको निकासका निम्ति उपयुक्त विकल्पको अविलम्ब खोजी समितिले माग गरेको छ।

समितिले भनेको छ, ‘यस्तो गम्भीर विषयमा राज्यका सम्बन्धित संयन्त्रले पूर्ण रूपमा बेवास्ता गर्दै सुरक्षाबलको आडमा उनीहरूका जायज मागको अवहेलना गर्दै पटक–पटक गरिएको लिखित बाचा तथा भद्र सहमति पालना गर्ने जिम्मेवारीबाट विमुख भई जवाफदेहिता शून्यताको स्थिति पैदा भएको छ।’

नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा काठमाडौँ उपत्यकाको फोहोर थुपार्नका लागि छनोट गरिएको नयाँ गन्तव्य हो। मानव बस्तीबाट एकदमै नजिकै रहेको उक्त क्षेत्रमा फोहोर व्यवस्थापनका लागि कुनै पनि मापदण्ड पालना नगरिएकाले स्थानीयको जनजीवन कष्टकर बन्न पुगेको विषयमा सरकारको आलोचना हुँदै आएको छ।

प्रकाशित: ९ साउन २०८० १४:१३ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast