नेपाली कांग्रेसको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

हिमाल प्रेस ८ साउन २०८० ६:३८ | Monday, July 24, 2023
नेपाली कांग्रेसको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहान्त्री कृष्णप्रसाद सिटौलाले जनताको निराशालाई सम्बोधन गर्न नेपाली काग्रेसले आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनरवलोकन गर्नुपर्ने बताएका छन्। त्यसका लागि प्राध्यापक एवं विज्ञको छलफलबाट आएको निष्कर्षलाई आधार बनाउनुपर्ने सिटौलाको सुझाव छ।

बीपी स्मृति दिवसका आइतबार प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइले आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवाद राष्ट्रनिर्माणको आधार’ विषयक अन्तरसंवादमा सिटौलाले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भने, ‘संविधानमा मौलिक हकको रूपमा राखेका प्रावधान बीपी को समाजवादसँग नजिक रहे पनि कार्यान्वयन नभएकाले अब नयाँ ढंगले अघि बढ्नुपर्ने बेला आएको छ।’  कार्यक्रममा प्रा.डा. ओम शर्माले बीपी को सैद्धान्तिक र व्यावहारिक पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनको कार्यपत्रमा आर्थिक नीतिनिर्माताले बीपीलाई अँगाल्नुपर्ने तथ्यगत आधार प्रस्तुत गरिएको छ।

प्रप्रासंघ, नेपालका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्नुपर्नेमा जोड दिए। सचिव विष्णु पोख्रेलले शिक्षामा राज्यले यथोचित ध्यान नदिँदा युवा विदेश पलायन भइरहेको र प्राध्यापकहरूलाई विचारमा बन्देज लगाउँदा लोकतान्त्रिक व्यवस्था बलियो हुन नसक्ने बताए।

स्ववियु सभापति श्याम ओझाले शैक्षिक अवस्था सुधारका पक्षमा सबै एकजुट हुनुपर्ने बताएका थिए। यस्तै प्रा.डा. खुमनारायण पौडेल र डा. दीपेश घिमिरेले वैचारिक धरातल कमजोर भयो भने संगठन कमजोर हुने बताए।

द्वन्द्व, शान्ति र विकास अध्यन विभागमा भएको कार्यक्रमको अध्यक्षता गोपी काफ्लेले गरेका थिए। यस्तै स्वागत लक्ष्मी खड्काले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन दीपक ढकालले गरेका थिए।

प्रकाशित: ८ साउन २०८० ६:३८ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast