परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

हिमाल प्रेस १ साउन २०८० १४:५५
18
SHARES
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौँ- थाइल्याण्ड भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ। बिमस्टेकमा रहेका देशका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि थाइल्याण्ड पुगेका दुवैजनाबीच साइडलाइन वार्ता भएको हो।

भारतीय विदेशमन्त्री एस. जयशंकरले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। उनले दुई मुलुकबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको उल्लेख गरेका छन्।

परराष्ट्रमन्त्री साउद आइतबार थाइल्याण्ड गएका थिए। बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा पनि लिइन्छ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन्। यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी छैनन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरूबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ।

थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिमस्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरूबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो। साे क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रबारे पनि छलफल भएकाे परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए। ‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौँ,’ उनले भने, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए।’

प्रकाशित: १ साउन २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast