संगठन विस्तारमा केन्द्रित नेसपा, वृक्षारोपण गरेर अभियान सुरु गर्ने

हिमाल प्रेस १ साउन २०८० ६:३१ | Monday, July 17, 2023
संगठन विस्तारमा केन्द्रित नेसपा, वृक्षारोपण गरेर अभियान सुरु गर्ने

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)ले आजबाट संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्दैछ। पार्टी नेता, कार्यकर्ता एवम् शुभचिन्तक सबैको साथ लिएर सातै प्रदेशमा वृक्षारोपण गरी अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित आगामी पुससम्म चल्ने अभियान कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डा. डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा सञ्चालन हुने बताइएको छ।

कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरेर अभियान सुरु गरिने छ।

मधेश प्रदेशमा फूलको विरुवा रोपेर अभियान सञ्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए।

यस्तै बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित विभिन्न प्रजातिका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ गरिने छ।

अध्यक्ष भट्टराईले गोरखाको पालुङटार नपा १ खोप्लाङ ज्योति चौतारामा विभिन्न प्रजातिका वृक्षारोपण गरेर अभियान सुरु गर्नेछन्।

यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टिकापुर, भजनी र कैलालीमा वृक्षारोपण गरिने छ। प्रदेशका कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत वृक्षारोपण गरी अभियानको शुभारम्भ हुने पार्टीले जानकारी दिएको छ।

प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजार बढी वृक्षारोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ। सबै प्रदेशका जिल्ला तथा आवश्यकताअनुसार पालिका तहमा पनि अभियान सञ्चालन गरिने नेसपाले जनाएको छ।

प्रकाशित: १ साउन २०८० ६:३१ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast