काठमाडौँ- लागुपदार्थ सेवन गरेर गाडी चलाउने एक सय ४९ जना चालकलाई प्रहरीले कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच गरिएको थियो।
सोही क्रममा चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाएनचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो।
लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमा यात्रु बोक्ने सवारीसाधन चलाउने पनि छन्।
यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय रहको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।