सुर्खेत- पत्रकार एवं लेखक पुनम विसीले ‘हिरासतमा पुस्तकालय’ अभियानका लागि दुई दर्जन बढी उपन्यास (पुस्तक) सहयोग गरेका छन्।
शुक्रबार कर्णाली प्रदेश प्रहरीको कार्यालयमा एक कार्यक्रमका बीच पत्रकार विसीले आफैले लेखेको २९ वटा ‘रमा’ उपन्यास कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाललाई प्रदान गरेका हुन्।
प्रदेश प्रहरीको ‘हिरासतमा पुस्तकालय अभियान’का लागि पत्रकार विसीले उपन्यास सहयोग–हस्तान्तरण गरेका हुन्।
कर्णालीमा मुद्दा चल्ने १४ वटा प्रहरी कार्यालयहरू छन्।
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ प्रहरीले हिरासतमा पुस्तकालय स्थापना गर्न लागेको हो।
‘यो मेरो पहिलो उपन्यास हो। हिरासतमा पुस्तकालय अभियानले कर्णालीमा सकारात्मक सोचको वृद्धि गर्ने महशुस गरेर मैले रमा हस्तान्तरण गरेको हुँ।’ विसीले भने, ‘रमा एक सशक्त नारीको आत्मकथा हो। कर्णालीका नारीहरुले आफ्नो जीवनमा भोग्नुपरेका कथा, व्यथाहरू उपन्यासमा समेट्ने प्रयत्न गरेको छु।’
लेखक विसीद्वारा प्राप्त उपन्यास तत्काल कर्णालीका सबै हिरासतका पुस्तकालयमा पठाइने प्रहरी नायव महानिरीक्षक ढकालले बताए।
हिरासतमा रहेका कैदीहरुमा अध्ययनशील, हिरासतको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवद्र्धक शिक्षामा सहयोग गर्न पुस्तकालयको स्थापना गर्न लागिएको महानिरीक्षक ढकालले बताए।
साथै, कर्णाली प्रदेशमा कारागारलाई किताब अभियानको समेत गठन समेत गरिएको छ। उक्त अभियानमार्फत यसअघि ४० हजार भन्दा बढी पुस्तक प्रहरीलाई हस्तान्तरण गरिसकेको समितिको उप–संयोजक ज्योति कटुवालले जानकारी दिइन्।
कारागार पुस्तक अभियान २३ चैत्र, २०७५ मा साहित्यकारसमेत रहेका तत्कालिन प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा सुरु भएको थियो। गत वर्ष २०७९ वैशाखमा रमा उपन्यास विमोचन भएको थियो।